
काठमाडौं जेठ ४ । नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल नै पक्राउ परेका छन् । रिजाललाई झापाबाट काठमाडौँ आउने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरिएको काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनुभयो । प्रकरणमा यस अघि पक्राउ परेकाहरुको वयानका आधारमा उनको संलग्नता पुष्टि भएपछि पक्राउ गरिएकव प्रहरीको भनाइ छ ।
यसैबीच काठमाडौँ जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि आज पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको छ । मियाँलाई आज विहान प्रहरीले सिंहदरवार भित्रबाटै पक्राउ गरेको थियो । उनको गाडीमा पिडितसंग भेटघाट गर्ने र पैसा ओसार्ने काम भएको प्रहरीले बताएको छ । मिँयाले चढ्ने सरकारी नम्बर प्लेटको गाडी पनि प्रहरीले बरामत गरिसकेको छ ।



उक्त घटनामा यसअघि प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १४ जनालाई पक्राउ गरी प्रारम्भिक बयान लिइसकेको छ । आज पक्राउ परेका दुईसहित उक्त घटनामा पक्राउ पर्नेको सङ्ख्या १६ पुगेको छ ।
रिजालमाथि यसअघि हिरासतमा परेका सानु भण्डारीसँग आर्थिक कारोबार भएको पाइएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विगतमा रिजालले बाँकी रहेका शरणार्थीको पुनर्बासका लागि पहल गरेका थिए । सोही आधारमा सरकारले कार्यदल गठन गरेको थियो ।
यता हज समितिका अध्यक्ष मियाँलाई भने गिरोहसँगको मिलेमतो गरेको आरोप छ । उनले हज समितिका लागि प्रयोग गर्न दिएको गाडी गिरोहलाई प्रयोग गर्न दिएको खुलेको प्रहरीले जनाएको छ । उक्त सरकारी गाडी अहिले प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
उक्त घटनामा अनुसन्धानका लागि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्वगृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राईलगायत १६ जना पक्राउ परिसकेका छन् ।
उक्त घटनामा अब प्रहरीले छ दिनमा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पुर्याउनुपर्ने छ । जिल्ला प्रहरी परिसर काठमाडौँले शरणार्थी प्रकरणको घटनाको ठगी र सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।