२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

हालसम्म पक्राउ नपरेकालाई सिधैं अदालतमा पेस गर्ने प्रहरीको तयारी

काठमाडौं बैशाख २९ । नक्कली शरणार्थी प्रकरणको आरोपमा पक्राउ पर्न नसकेका आरोपितहरुलाई प्रहरीले सिधै अदालत समक्ष पेश गर्ने भएको छ । आरोपितहरुमध्ये नाम थर ठेगाना खुलेकाहरुलाई मुद्दा दर्ता भएपछि अदालतमा पेश गरिने र ठेगाना नखुलेकाहरुको हकमा भने पक्राउ गरी मुद्दाको प्रकृया अघि बढाइने प्रहरीले जनाएको छ ।

शरणार्थी प्रकरणमा आरोपित पूर्व मन्त्री टोपबहादुर रायमाझी सहित अन्य केहि व्यक्तिहरु फरार रहेका छन् भने १२ जना पक्राउ परेका छन । फरारहरुको खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।

नक्कली शरणार्थी प्रकरणमा आरोपितमध्ये कतिपय व्यक्तिहरु हालसम्म पक्राउ नपरेका भएपनि उनीहरुका विरुद्द मुद्दा दर्ता गरेर सिधै अदालतमा पेश गर्ने तयारी प्रहरीले गरेको छ ।

संगठित अपराधको सम्बन्धमा प्रहरीले ६० दिनभित्र मुद्दा दर्ता गर्नुपर्ने र यस प्रकरणमा आरोपित पक्राउ परेको ४९ दिन भैसकेकाले पक्राउ पर्न बाँकीलाई प्रहरीले सिधै अदालतमा पेश गर्ने तयारी गरेको हो ।

पक्राउ परेकाहरुसँग निरन्तर बयान लिने काम भैरहेको र उनीहरुको बयानका आधारमा थप प्रमाण जुटाउने काम पनि भैरहेको काठमान्डौ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सिताराम पराजुलीले जानकारी दिनुभयो ।

संगठित अपराधमा संलग्नहरुको हकमा ‘संगठित अपराध निवारण ऐन २०७०’ र ‘मुलुकी अपराध संहिता २०७४’ आकर्षित हुने कानूनमा व्यवस्था छ ।

संगठित अपराध निवारण ऐन २०७० को धारा १४ अनुसार यस्तो अपराध मुद्दामा संलग्नलाई ६० दिनभित्र अदालतमा दर्ता गर्नुपर्ने र ५७ औँ दिनमा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाई सक्नुपर्ने व्यवस्था रहेको छ ।

शरणार्थी प्रकरणमा संलग्न भएको प्रमाणित भएमा ठगी मात्र भएमा ७ वर्ष कैद, संगठित रुपमा ठगी भएमा करिब १० वर्ष र राज्य विरुद्दको कसूर समेत ठहर भएमा थप ५ वर्षा कैद हुने कानुनी व्यवस्था रहेको कानुनविदहरुले जानकारी दिएका छन ।

 

२०८० बैशाख २९, शुक्रबार प्रकाशित 1 Minute 98 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।