२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

नागरिकलाई अनागरिक बनाउनेलाई नछाड्ने गृहमन्त्री श्रेष्ठको अठोट

काठमाडौं बैशाख २८ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली नागरिकलाई अनागरिक बनाउने जस्तो दुषित कर्ममा संलग्न रहेका जोकोहीलाई नछोड्ने र कारबाही गरेरै छाड्ने बताउनुभएको छ । आज आफूसँग भेट गर्न पुगेका नेकपा (एकीकृत समाजवादी)का नेता तथा जनवर्गीय सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उहाँले  नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताउनुभएको हो ।

उहाँले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले यस प्रकारको ठगी सामान्य भ्रष्टाचार मात्रै नभएर सङ्गठित अपराध भएको उल्लेख गर्नुभयो । अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उहाँको भनाइ छ ।

“यो भ्रष्टाचार मात्रै होइन माथिदेखि तलसम्म मिलेर चलाइएको सङ्गठित अपराध हो । यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्यविरुद्धकै अपराध हो”, उहाँले भन्नुभयो ।

सो प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख उल्लेख गर्दै उहाँले दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याइने दृढता व्यक्त गर्नुभयो । शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट आफूले दह्रो साथ र आडभरोसा पाएको उहाँको भनाइ छ ।

“मलाई अहिलेसम्म शीर्ष नेताले यसलाई नपक्रनुस् उसलाई नपक्रनुस् भनेर दबाब दिनुभएको छैन । दोषी नफसोस् र निर्दोष नउम्कियोस् भन्ने नै उहाँहरूको कुरा छ,”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “प्रधानमन्त्रीको निर्देशन र आडभरोसा छ । दोषीलाई कारबाही गरियोस् निर्दोस नपरुन् भन्ने छ सबैको कुरा ।”

उहाँले प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको जानकारी दिनुभयो । “राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईंहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु,”, उहाँले भन्नुभयो ।

भेटमा एकीकृत समाजवादीका नेताले शरणार्थी प्रकरणमा सरकारले प्रशंसनीय काम गरेको भन्दै बधाई दिनुभएको थियो । यो अनुसन्धान प्रक्रियामा आफूहरूको पनि समर्थन रहने भन्दै उहाँहरूले कुनै पनि दबाबको अगाडि नझुक्न उपप्रधानमन्त्री श्रेष्ठलाई सुझाव दिनुभयो ।

२०८० बैशाख २८, बिहीबार प्रकाशित 0 Minutes 102 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।