२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

नक्कली भूटानी शरर्णार्थी प्रकरणलाई लिएर संसदमा चर्काचर्की; थप तीन जना विचौलिया पक्राउ

काठमाडौं बैशाख २६ । नक्कली भूटानी शरर्णार्थी प्रकरणमा दलका प्रभावशाली नेताहरुको नाम जोडिएपछि यस प्रकरणबारे संसदमा समेत चर्कोसंग आवाज उठिरहेको छ । यसैबीचमा पक्राउ पुर्जी जारी भएको झण्डै सातादिन हुँदा पनि सम्पर्कमा नआउनुभएका एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा आज प्रहरीले छापा मारेको छ । यसैगरि प्रहरीले उक्त प्रकरणमा जोडिएको आरोपमा थप दुई जनालाई आज काठमाडौंबाट पक्राउ गरेको छ। काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

नक्कली भूटानी शरर्णार्थी प्रकरण प्रहरीका लागि गहिरो अनुसन्धान र राजनितिक दल तथा संसदमा गहन छलफलको एजेण्डा बनेको छ । आरोपीहरुको बयान र प्रहरी अनुसन्धानमा दलका प्रभावशाली नेताहरुको नाम जोडिएपछि शरर्णार्थी प्रकरण संसदमा समेत चर्कोसंग उठिरहेको छ ।

तर पक्राउ पुर्जी जारी भएको झण्डै सातादिन हुँदा पनि एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ पर्नुभएको छैन । आजै पनि सांसद तोसिमा कार्की र प्रदीप यादवले रायमाझीको नामै लिएर पक्राउ पुर्जी जारी भएका सांसद पक्राउ नपरेको भन्दै दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

सांसद ठाकुरप्रसाद गैह्रे, तेजुलाल चौधरी र देवेन्द्र पौडेलले नक्कली शरर्णार्थी प्रकरणमा संलग्नलाई छानबिन गरेर कारबाही गर्नुपर्छ भन्नुभयो ।
नक्कली शरर्णार्थी प्रकरणमा थप प्रभावशाली नेताहरुको समेत नाम जोडेर गिरोहका सदस्यहरुले गृह प्रशासनका तत्कालिन नेतृत्वहरुसंग गरेको भनिएको अडियो संवादहरु पनि सार्वजनिक भएका छन् । अनुसन्धानमा रहेको प्रहरीले सार्वजनिक भएका अडियो लगायतका विषयमा समेत अनुसन्धान गरिरहरेको जनाएको छ । तर नाम जोडिएकाहरुले सार्वजनिक भएका विषयलाई अस्वीकार गर्नुभएको छ ।

यसैगरी सम्पर्कविहिन रहनुभएका पूर्वमन्त्रीको खोजी पनि प्रहरीले जारी राखेको छ । यसक्रममा रायमाझीको निवासमा प्रहरीले खानतलासी गरेको छ । अनुसन्धानमा खटिएको प्रहरी टोलीले रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गरेको हो । पक्राउ पुर्जी जारी गरेपनि हालसम्म फेला पर्न नसकेपछि प्रहरीले खोजी गर्ने क्रममा रायमाझीको निवासमा खानतलासी गरेको हो ।

नक्कली शरर्णार्थी प्रकरणमा हालसम्म ८ जना पक्राउ परिसकेका छन् । पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको छ । तर पूर्वमन्त्री रायमाझीसहित पक्राउ पूर्जी जारी भएका ४ जना अझै पक्राउ परेका छैनन् । त्यसो त पक्राउ परेकाहरु भन्दा पनि नाम जोडिएका हाईप्रोफाइलहरुका कारण राजनीति तरंगीत छ । हुन त प्रधानमन्त्रीको शरर्णार्थी प्रकरणमा अहिले ट्रेलरमात्र हो सिंगै फिल्म देखिन बाँकी छ भन्ने प्रतिकृयाले नागरिकलाई आश्वस्त बनाएको छ ।

तर नाम जोडिएका व्यक्ति आबद्ध दलबाट प्रष्ट धारणा नआउँदा आशंका पनि यथावत रहेका छन् । प्रतिनिधिसभाको आजकै वैठकमा सांसद प्रेम सुवालले शीर्ष नेतृत्वबीच निरन्तर चलिरहने भेटघाट एवं बैठक दोषीलाई जोगाउनका लागि त होइन भन्ने आशंका व्यक्त गर्नुभयो ।।

२०८० बैशाख २६, मंगलवार प्रकाशित 0 Minutes 101 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।