
काठमाडौं बैशाख ६ । भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष युएनएफपीएको पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो ।



युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसङ्ख्या एक अर्ब ४२ करोड ८६ लाख पुगेको तथा चीनको जनसङ्ख्या एक अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख गरिएको छ । युएनएफपीएको प्रतिवेदनको जनसाङ्ख्यिक सूचकमा यो तथ्याङ्क समावेश गरिएको छ ।
सन् १९५० मा संयुक्त राष्ट्रसङ्घले जनसङ्ख्या तथ्याङ्क सङ्कलन र जारी गर्न थालेपछि भारतको जनसङ्ख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो ।
गत वर्ष चीनको जनसङ्ख्या उच्च बिन्दुमा पुगेर घट्न थाल्यो भने सोही अवधिमा भारतको जनसङ्ख्यामा बढोत्तरी भएको छ । प्रतिवेदनअनुसार सरदर आयुमा भने भारतभन्दा चीन अगाडि छ ।
चीनमा महिलाको सरदर आयु ८२ वर्ष तथा पुरुषको ७६ वर्ष छ भने भारतमा महिलाको सरदर आयु ७४ र पुरुषको ७१ वर्ष छ ।
विज्ञहरूका अनुसार भारतलाई अहिले जनसाङ्ख्यिक लाभ भएको छ । उपभोक्ता सञ्चालित अर्थतन्त्रमा युवा जनसङ्ख्याको अधिकताले देशको विकासलाई अघि बढाउन मद्दत गर्नेछ भने देशको आर्थिक वृद्धिका लागि पनि ठूलो अवसर प्रदान गर्नेछ ।
देशलाई आन्तरिक खपतका निम्ति श्रमिक आपूर्तिमा समस्या नहुने हुनाले बाह्य समस्याबाट पनि भारतलाई जोगिन सहज हुने विश्लेषण गरिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।