२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

सरकारले बनाउने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

काठमाडौं चैत्र २२ । धुर्मुस–सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन गर्न नसकेर अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने भएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले रङ्गशाला बनाउने निर्णय गरेसँगै रङ्गशाला बन्नेमा स्थानीय आशावादी भएका हुन् ।

भरतपुर महानगरपालिकाले फाउण्डेशनलाई निर्माणका लागि सम्झौता गरेको भएपनि ठूलो रकम बक्यौता तीर्नुपर्ने अवस्था आएपछि फाउण्डेशन पछाडि हटेसँगै सरकार आफैँले निर्माण गर्न लागेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मन्त्रीपरिषद्बाट निर्णय भएकाले अब रङ्गशालाको काम अघि बढ्ने बताउनुभयो । फाउण्डेशनले उधारोमा काम नगरेको भए यस अघि नै प्रक्रिया अघि बढ्ने बताउँदै उहाँले भन्नुभयो, “ठूलो रकम तीर्नुपर्ने बाँकी देखिएकाले प्रक्रिया मिलाउन समय लागेको हो । अब काम अघि बढ्छ ।”

महानगरसँग सम्झौता गर्दा ऋण बक्यौताको विषय उल्लेख नभए पनि फाउण्डेशनले आर्थिक सङ्कलन गर्न नसकेर ठूलो रकम बक्यौता भएपछि महानगरपालिकालाई स्वामित्व लिन आग्रह गरेको थियो । महानगरलाई हस्तान्तरण गर्दैगर्दा फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रु १८ करोड ४१ लाख भुक्तान गर्न बाँकी रहेको बताउनुभएको थियो । सरकारले रु १२ करोड ऋण तीर्नका लागि रकम दिने गरी स्वामित्व लिने निर्णय गरेको हो ।

फाउण्डेशनले महानगरसँगको सम्झौताका क्रममा गरेको प्रतिबद्धताअनुसार आर्थिक पारदर्शीता नदेखाउँदा प्रश्नचिन्ह खडा हुँदै आएको छ । नेपाल सरकारको सार्वजनिक खरिद ऐनलाई वेवास्था गरी मनोमानी ढङ्गले खर्च गरेको र विवरण सार्वजनिक नगरेको फाउण्डेशनमाथि आरोप छ । महानगर प्रमुख दाहालले फाउण्डेशनले काम गर्न नसके पनि महानगरले गौरवको आयोजनाको रूपमा रङ्गशालालाई लिएकै कारण पहल कदमी गरेर अघि बढाएको बताउनुभयो ।

२०७९ चैत्र २२, बुधबार प्रकाशित 0 Minutes 125 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।