२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

मन्त्रिपरिषदले आज पूर्णता पाउँदै, आजै शपथको तयारी

काठमाडौं चैत्र १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ । हिजै सरकारलाई पूर्णता दिने तयारी गरिएपनि प्रधानमन्त्रीको व्यस्तता र दलहरूको आन्तरिक तयारीमा भएको ढिलाइका कारण मन्त्रिपरिषद् विस्तार आजका लागि सारिएको हो ।

मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रीहरूको शपथग्रहण पनि आजैका लागि तय गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सरकारलाई पूर्णता दिन हिजो बिहान र बेलुका गरी दुई पटक बैठक बसेको थियो ।

गठबन्धनको बैठक चलिरहेकै बेला प्रधानमन्त्री प्रचण्ड चितवनको कार्यक्रमा सहभागी हुन जानुभएको थियो भने यता दलहरूको पनि आन्तरिक तयारी पूरा भएको थिएन । यी दुवै कारणले बिहीबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार हुन नसकेको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाका अनुसार आज बिहान एक चरण छलफल गरेर मन्त्री र मन्त्रालय चयनको विषयलाई अन्तिम रूप दिइनेछ । त्यसपछि नयाँ मन्त्रीहरूको शपथग्रहण गराइनेछ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले पनि आज सरकारले पूर्णता पाउने जानकारी दिनुभयो । सहमति हुन बाँकी केही विषयमा हिजो साँझ प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गर्नुभएपछि मन्त्रिपरिषद् विस्तारको कार्यक्रम आजका लागि तय भएको बताइएको छ ।

२०७९ चैत्र १७, शुक्रबार प्रकाशित 0 Minutes 101 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।