२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

मधेश प्रदेशमा माओवादीको मात्रै एक सीट; महेन्द्र राय बने हिरो

काठमाडौं, मंसिर ११ । मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न जोगाउने एक मात्र उम्मेदवार महेन्द्र राय यादव पार्टी पङ्तिमा हिरो बन्नु भएको छ ।

सत्ता गठबन्धमा रहेर चुनावी तालमेल गरेको माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा एकल उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा यादवमात्रै निर्वाचित हुनुभयो । सर्लाही दुईबाट सत्ता गठबन्धनकै सहयात्री दल लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै राय निर्वाचित हुनुभएको हो । रायले २३ हजार पाँच सय २९ मत पाउँदा महतोले २१ हजार पाँच सय १८ मत प्राप्त गर्नुभयो ।

मधेस प्रदेशमा माओवादीले धनुषा–१, महोत्तरी–१, सिरहा–३ र सर्लाही–२ मा उम्मेदवारी दिएको थियो । धनुषा–१ मा पार्टीका उपमहासचिव मातृका यादव जनता समाजवादी पार्टीका दीपक कार्कीसँग पराजित हुनुभएको छ । महोत्तरी–१ मा उपमहासचिव गिरिराजमणि पोखरेल नेकपा (एमाले) नेता लक्ष्मी महतो कोइरीसँग र सिरहा–३ मा विश्वनाथ साह एमाले नेता लीलानाथ श्रेष्ठसँग पराजित हुनुभयो ।

विसं २०७४ मा राष्ट्रिय जनता पार्टीबाट सोही क्षेत्रबाट निर्वाचित राय अहिले पनि माओवादी होइनन् । उहाँ डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको अध्यक्ष हुनुहुन्छ । पार्टी फरक भए पनि उहाँ यसपटक गठबन्धनका कारण माओवादी केन्द्रको चुनाव चिह्न हसियाँ हथौडा लिएर चुनावमा होमिनु भएको थियो ।

को हुन राय ?

राय नेपाली राजनीतिको परिचित नाम हो । विसं २०६२/६३ अघिसम्म एमालेबाट राजनीति गर्नुभएका राय सो पार्टीको केन्द्रीय सदस्यसमेत बन्नुभयो । सोही पार्टीबाट २०५१ को मध्यावधि निर्वाचन र २०५६ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेर सर्लाहीबाट निर्वाचित हुनुभयो ।

तर २०६२/६३ को आन्दोलनपछि एमाले परित्याग गरी तराई–मधेस लोकतान्त्रिक पार्टी स्थापना गरेर त्यसको महासचिव बन्नुभयो । राजनीतिक घटनाक्रमले मधेसवादी दल जुट्न र फुट्न थालेपछि उहाँ तमलोपा परित्याग गरी तराई मधेस सद्भावना पार्टी हुँदै राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको सदस्यसमेत हुनुभयो । पछि राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरम एकीकरण गरी बनेको जनता समाजवादी पार्टी हुँदै अहिले नेपाल समाजवादी पार्टीको आवद्ध हुनुहुन्छ ।

राय २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि सर्लाही–४ बाट विजयी हुनुभएको थियो । संविधान निर्माणपछिको पहिलो आमनिर्वाचन २०७४ मा पनि उहाँ सर्लाही–२ बाट निर्वाचित हुनुभयो । उहाँ २०५४ मा राज्यमन्त्री, २०६४ मा सिँचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र २०७४ को निर्वाचनपछि कृषि तथा पशुपक्षी विकासमन्त्री बन्नुभएको थियो ।

२०७९ मंसिर ११, आईतवार प्रकाशित 0 Minutes 209 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।